जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बालकुमारी घटनामा ज्यान गुमाएका २ युवकको परिवारलाई सरकारले १०/१० लाख दिने

जन्मभुमि खबर ,
पोखरा ।

रोजगारी अनुमति प्रणाली (ईपीएस)को फाराम भर्ने विषयलाई लिएर शुक्रबार ललितपुरको बालकुमारी र ग्वार्को क्षेत्रमा भएको प्रदर्शनमा ज्यान गुमाएका युवकका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ दिने भएको छ।

शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा अधिकारीहरुको बैठकले मृतकका परिवारलाई क्षतिपूर्ति स्वरुप १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको हो।

बैठकले उक्त घटनाका सन्दर्भमा लापरबाही देखिएका कर्मचारी र सुरक्षाकर्मीलाई कारबाहीको निर्णय समेत गरेको छ।

सन् २०२३ मा रोजगारीका लागि कोरिया जान पानीजहाज क्षेत्रमा आवेदन दिएका युवाहरुले रोजगारी अनुमति प्रणाली (ईपीएस)को परीक्षा दिन नपाउने व्यवस्थाको विरोध गर्दै शुक्रबार दिउँसो बालकुमारी–ग्वार्को क्षेत्रमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरुले सार्वजनिक सवारीका साधन तोडफोड गर्नुका साथै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत गरेका थिए।

स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज र अस्रु ग्यास प्रहारका साथै गोली समेत चलाएको थियो।

प्रदर्शनका क्रममा २ जना युवक २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो।