जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा वडा नम्बर ६ का वडा सदस्यसहित ४ ठगी मुद्दामा पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा फेवातालको फुट ट्र्याकमा फोटोग्राफी गरेबापत फोटोग्राफरलाई धम्क्याएर रकम असुल्ने वडा सदस्यसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कास्की प्रहरीले पोखरा महानगरपालिका-६ का सदस्य विकास पहारीसहित लेकसाइडका प्रवीण विश्वकर्मा, अप्पे भनिने अभिषेक बराल र दीपेन्द्र पहारीलाई आज पक्राउ गरेको हो ।

फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको भन्ने १५ जना व्यक्तिहरुको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रवक्ता श्रवणकुमार विकले बताए ।

उनीहरूलाई कास्की जिल्ला अदालतबाट ठगी तथा आपराधिक लाभसम्बन्धी मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।