जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा बगरबाट ठूलो मात्रामा लागूऔषधसहित १ जना पक्राउ

जन्मभुमि खबर,
पोखरा ।

लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराले ठूलो परिणाममा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

व्यूरोले बुधबार पोखरा महानगरपालिका वडा नं. १ बाट लागूऔषध र पाँचलाख रुपैयाँ नगदसहित अर्जुनकुमार गुरुङलाई पक्राउ गरेको हो ।

पोखरा वडा नं. १ बगर बस्ने वर्ष ४९ का गुरुङलाई शंकास्पद अवस्थामा फेला पारी व्यूरोले घर समेतको तलासी लिदाँ ठूलो परिणामको लागूऔषध भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए ।

प्रहरीले गुरुङको घरको कोठाबाट सुटकेस भित्र लुकाई राखेको अवस्थामा लागूऔषध डाइजापाम ६७० एम्पुल, फेनारगन ६७० एम्पुल, नुर्फिन ६७४ एम्पुल गरी दुईहजार १४ एम्पुल बरामद गरेको प्रहरी वरिष्ठ उपरीक्षक केसीले बताए ।

प्रहरीले लागूऔषधसँगै नगद ५ लाख २१ हजार दुईसय रुपैयाँ र मोवाइल १ थान बरामद गरेको थियो । पक्राउ परेका गुरुङलाई लागूऔषध सम्बन्धी कसुर अन्तर्गत मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।