जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुर्णरुपमा सञ्चालन गर्न माग

जन्मभुमि खबर ,
पोखरा ।

प्रतिनिधिसभाको आजको बैठकमा पर्यटकीय राजधानीका रुपमा घोषित पोखरास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गरी पर्यटन वृद्धि गर्न माग गरिएको छ ।

बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद विद्या भट्टराईले विभिन्न मुलुकका विभिन्न सहरमा पोखराबाट सिधा हवाइ सेवा सञ्चालन गराइ पोखरालाई अन्तर्राष्ट्रिय गन्तव्य बनाउन आग्रह गरिन ।

सांसद भट्टराईले पोखरामा चार सयको सङ्ख्यामा रहेका होटलहरुको इजाजत नवीकरण गर्न वातावरण संरक्षण ऐन संशोधन हुन आवश्यक रहेको र काठमाडौँबाट पोखरा जाने सडकअन्तर्गत तनहुँ खण्ड लामो समयदेखि विचाराधीन रहनुले असुविधा भएको गुनासो गरिन ।

भट्टराईले पर्यटन ऐनलाई तत्काल परिमार्जन गर्न सरकारसँग माग गरेकी छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै भट्टराईले पर्यटन ऐन, २०३० लाई तत्काल अद्यावधिक गरी समय सान्दर्भिक बनाउन सरकारलाई दबाब दिएकी हुन् ।

सांसद भट्टराईले पर्यटन रणनीतिक योजनाले प्रक्षेपण गरेको सन २०२५ सम्ममा नेपालमा आउने वार्षिक पर्यटनको सङ्ख्या २५ लाख २२ हजार पुर्‍याउने लक्ष्य पूरा हुने गरी काम गर्न पनि सरकारलाई सचेत गराइन् । उनले पोखरालाई पर्यटकको राजधानी घोषणा गर्ने काम गरेकोमा सरकारप्रति आधार व्यक्त गर्दै त्यसको औचित्य पुष्टि हुने गरी काम गर्न पनि आग्रह गरिन् ।

सांसद भट्टराईले भने, ‘पर्यटक राजधानी त पोखरालाई घोषणा गर्‍यौँ । तर घोषणा गर्नुको औचित्य र आवश्यकता पूरा गर्न कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी अब हाम्रो काँधमा आएको छ । पर्यटन उद्योगले निर्यात बस्तुको ३८ प्रतिशत र गैर उद्योग सेवाहरूको कूल २० प्रतिशत साथै विदेशी विनिमय आर्जनको झण्डै ४ प्रतिशत योगदान पुर्‍याउँछ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान ४ प्रतिशत रहेको छ । पर्यटन रणनीतिक योजनाले सन् २०२५ सम्म नेपालमा आउने वार्षिक पर्यटकको सङ्ख्या २५ लाख २२ हजार पुग्ने तथा जीडीपीमा नौ प्रतिशत भन्दा योगदान पर्यटनको रहने प्रक्षेपण गरेको छ । पर्यटन विकासको खाका समेत तय गरेको छ । तर अहिलेसम्म पनि पर्यटन ऐन २०३० लाई हामीले परिमार्जन गर्न सकेका छैनौँ । हाम्रो पहिलो काम आजको सन्दर्भमा सान्दर्भिक हुने गरी पर्यटन ऐन निर्माण गर्नु अनिवार्य छ ।’