जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा रवि लामिछानेमाथि मकैको खोया प्रहार, एकजना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि आक्रमण भएको छ । पोखरा अमरसिंह चोकमा आयोजित सभामा सम्बोधन गर्ने क्रममा शनिबार लामिछानेमाथि लमजुङ घर भई पोखरा बस्दै आएका सन्तोष रानाभाटले खोया प्रहार गरेका थिए । उनले प्रहार गरेको खोया मन्चमा पुगेको थियो ।

रानाभाटलाई वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले पक्राउ गरेको छ । कार्यालयका इन्स्पेक्टर विनोद श्रेष्ठका अनुसार रानाभाटलाई पक्राउ गरिएको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

सभापति लामिछानेले सहकारीको कुरा गरेपछि आक्रोशित बनेका रानाभाटले खोया प्रहार गरेका थिए ।

मकैको खोया प्रहारपछि सम्बोधन गर्दै रविले जतिसुकै प्रहार भए पनि कालो सिसाभित्र लुकेर हिँड्ने नेता नभएको बताएका छन् ।

‘जतिसुकै प्रहार भए पनि, जतिसुकै संयन्त्र भए पनि, जतिसुकै घेराबन्दी भए पनि टाउको निहुराएर मुख छोपेर कालो सिसाभित्र लुकेर हिँड्ने नेता होइन । अझ ठूलो छाती पारेर ढमढम चोक, गल्ली, चिया पसलमा, सभा समारोहमा खुल्लमखुल्ला हिँड्ने चाहने नेता बन्न चाहन्छु,’ उनले भने ।

‘म यो मकैको घोघा (खोया)लाई आफ्नो घरमा झुन्ड्याएर राख्नेछु। प्रतिशोध लिएर होइन, शिक्षा लिएर। नेपाली जनताले कत्रो अपेक्षा गरेका छन् हेर। यदी तैँले बाटो बिराइस भने आज त घोघा पाइस् तैँले, यदी तैंले बाटो बिराइस् भने कल्पना गर के मात्र पाउँछस् भनेर मलाई चेतावनी दिइएको हो,’ सभापति लामिछानेले भने, ‘मैले यसलाई सकारात्मक रुपमा लिएको छु। मैले यसलाई मेरो सपना पूरा नहुने बेलासम्म जोगाएर राख्नेछु। कुहिन दिन्नँ, झर्न दिन्नँ।’

साथै, उनले खोया प्रहार गर्ने ती युवालाई भेट्ने वाचा समेत सम्बोधनको क्रममा गरे।

‘म उहाँलाई भेट्न छिटै उहाँको घरमा जानेछु। उहाँको समस्या समाधान नभएको रहेछ भने म उहाँको समस्या समाधान गर्न अग्रपंक्तिमा लाग्नेछु,’ सभापति लामिछानेले भने।