जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा दुई ठाउँबाट तिन जना अवैध लागु औषधसहित पक्राउ

जन्मभुमि खबर,
पोखरा ।

पोखराको विपि मार्गबाट एक युवक अवैध लागु औषध गाँजासहित पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नं -१४ विपिमार्गमा शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा स्याङ्गजा जिल्ला पुतलीबजार नगरपालिका वडा नं -६ स्थायी घर भइ हाल पोखरा -२६ बुढीबजार बस्ने २५ वर्षीय विक्रम भनिने एक बहादुर सार्की पक्राउ परेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

हमालका अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतको वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्दा उनको साथबाट अवैध लागु औषध गाँजा ९७० ग्राम फेला पारेको हो ।

प्रहरी नियन्त्रणमा रहेका उनलाई लागु औषध सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालतबाट १० दिनको म्याद थप लिएर थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता हमालले जानकारी दिए।

यस्तै , ३३५ एम्पुल अवैध लागु औषधसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले अवैध लागु औषधसहित पोखरा महानगरपालिका -९ पृथ्बीचोकस्थित बसपार्कको एक होटलबाट दुई जनालाई पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

पक्राउ पर्नेमा दाङ जिल्ला घोराही उपमहानगरपालिका – १९ बस्ने बर्ष २० वर्षीय शान्त बहादुर सार्की र घोराही – १८ बस्ने २३ वर्षीय खिम बहादुर सुनार रहेका छन्।

हमालका अनुसार बसपार्कस्थित होटलमा लागु औषधको कारोवार भैरहेको भन्ने गोप्य सूचनाका आधारमा सोमबार साँझ अन्दाजी ५ बजेको समयमा प्रहरीले चेकजाँच गर्दा उनीहरुको साथबाट डाईजापाम ११२ एम्पुल, फेनेरागन ११२ एम्पुल, नुर्फिन १११ एम्पुल गरी जम्मा ३३५ एम्पुल लागु औषध र तीन थान मोवाइल वरामद गरेको हो।

पक्राउ परेका उनीहरुमाथि लागु औषध सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान कार्य अगाडी बढाईएको प्रवक्ता हमालले जानकारी दिए।