जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा दुईजना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयको टोलीले पोखरा महानगरपालिका–११ स्थित फूलबारीबाट उनीहरूलाई पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा पर्सा घर भएर कास्कीको पोखरा महानगरपालिका बस्ने ३७ वर्षीय विशाल साह कलवार र रुपन्देही घर भएर पोखरा बस्ने २५ वर्षीय इमरान अहमद खान छन् ।

आरोपीहरूले पोखराको सिद्धेश्वर मार्गमा कोठा भाडामा लिएर अवैध कल बाइपास गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । कल बाइपास गर्न प्रयोग गरिएको १२८ पोर्ट क्षमताको डिभाइस प्रहरीले बरामद गरेको छ । सो कल बाइपास सेन्टर श्रीलंकन नागरिकले सञ्चालन गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । श्रीलंकन नागरिक फरार छन् ।

उनीहरूको साथबाट ६४ पोर्ट भएको अवैध कल बाइपास गर्ने २ वटा उपकरण, १२८ वटा सीमकार्ड, वर्ल्ड लिंकको राउटर, एउटा युपिएस, एक्टेन्सन कर्ड, नेट फाइवर, पेन ड्राइभ, २ वटा मोवाइल र ५९७ वटा एनसेलको सिम बरामद भएको छ ।

अन्तर्राष्ट्रिय कलको कुनै पनि सेवा शुल्क सञ्चार प्रदायक संस्थाले नपाउने गरी कल बाइपास गर्नेहरूलाई दूरसञ्चार ऐन–२०५३ को दफा ४७ को उपदक्ता–२ अनुसार कारबाही हुन्छ । सो ऐनअनुसार ५ वर्षसम्म कैद र जरिवाना हुने कानुनी व्यवस्था छ ।