जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पशुपतिनाथको आरती र दीप प्रज्वलनको भिडिओ सामाजिक सञ्जालमा राखे कारबाही हुने

जन्मभुमि खबर ,
पोखरा ।

पशुपतिनाथ मन्दिरस्थित बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिचेर सामाजिक सञ्जालमा राखे कारबाही हुने भएको छ ।

पशुपति क्षेत्र विकास कोषद्वारा स्वीकृति प्राप्त बुढासुब्बा डिजिटल प्रालिले एक सूचना जारी गर्दै आरती र दीप प्रज्वलनको भिडिओ खिचेर फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युट्युबमा व्यवसायिक प्रयोजनका लागि राखिए कारबाही हुने जनाएको छ ।

उक्त कार्य गरेको थाहा भएमा डिजिटल कपिराइट ऐनअन्तर्गत कारबाही हुने बुढासुब्बाले जनाएको छ ।

के अव सर्वसाधारणले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाउने हो ?

फोटो तथा भिडियो व्यावसायिक प्रयोजनका लागि पशुपति विकास कोषबाट स्वीकृत प्राप्त बुढासुब्बा डिजिटलका प्रमुख नवराज गिरीले सर्वसाधारणका लागि भिडियो तथा फोटो खिच्न रोक नलगाएको बताएका छन् । सर्वसाधारणले व्यक्तिगत प्रयोजनका लागि फोटो तथा भिडियो खिच्न पाउने तर व्यावसायिक प्रयोजनका लागि नपाउने उनको भनाई छ ।

‘पशुपतिको फोटो तथा भिडियो व्यावसायिक प्रयोजनका लागि मैले प्रयोग गर्ने टेन्डर मार्फत स्वीकृत लिएको छु । व्यक्तिगत प्रयोजनका लागि जसले पनि खिच्न पाउँछ । त्यसमा मैले आपत्ति राखेको छैन’, गिरीले भने ‘पशुपतिको भिडियो हालेपछि विशेष गरेर भारत लगायत विभिन्न ठाउँबाट युट्युबमा कपी राइटको क्लेम आउँछ । त्यसका लागि हामीले रोक लगाएका हौ ।’ पशुपति विकास कोषसँग ५ वर्षका लागि टेन्डर मार्फत भिडियो र फोटोको राइट आफूले लिएको गिरीले खुलाए ।

‘मैले जिम्मा लिएको ६ महिना भैसकेको छ । एक करोड १४ लाख बैक ग्यारेन्टी छ । महिनाको एक लाख ८० हजार ८ सय रुपैयाँ तिर्छु’, गिरीले थपे ‘यति ठुलो रकम मैले त्यसै तिरेको होइन । त्यहाँको फोटो भिडियो व्यावसायिक प्रायोजनका लागि हो ।’ भिडियो तथा फोटो अन्यले पनि व्यावसायिक प्रयोजन गरिरहेको देखिएकोले आफूले सूचना निकालेको गिरीको भनाई रहेकोछ । ‘मैले कुनै पनि भक्तजनलाई अहिलेसम्म डिस्टप गरेको छैन । मात्र व्यावसायिक प्रयोग नगरिइदिनुस् भनेको हो । त्यो मैले भन्न पाउँछु’ गिरीले थपे ।