जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पर्वतको जलजलामा घरभित्र सुतिरहेको अवस्थामा दम्पतीको हत्या

जन्मभुमि खबर ,
पोखरा ।

पर्वतको जलजलामा एक दम्पतीको हत्या भएको छ । जलजला गाउँपालिका २ मल्लाजको दहमा गएराति अज्ञात समूहले ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती श्रीमती ६५ वर्षकी गमला जिसीको हत्या गरेको प्रहरीले जनाएको छ ।

घरभित्र सुतिरहेको अवस्थामा जिसी दम्पतीको हत्या भएको र आज बिहान घरभित्र नै मृत अवस्थामा भेटिएको वडा अध्यक्ष प्रकाश जिसीले जानकारी दिए । उनका अनुसार घरमा उनीहरू २ जना मात्रै बस्दै आएका थिए ।

बिहान विदेश र बेनीमा रहेका छोराहरूले घरमा फोन गर्दा बाबाआमाको फोन नउठेपछि नजिकका छिमेकीलाई हेर्न पठाएको र छिमेकीले घरमा बाहिरबाट ताल्चा लगाएको, गोठमा गाई कराइरहेको भनी खबर गरेपछि बेनीमा रहेका छोरा घरमा आउँदा वृद्ध दम्पतीको हत्या भएको खुलेको हो ।

मृतक सूयबहादुरले हिजो राति अन्दाजी ९ बजेसम्म आफूले घर नजिकै खरबारीमा लागेको आगो निभाउन लागेको भनी वडाध्यक्षलाई फोनमा खबर गरेका थिए । स्थानीयका अनुसार दुई तल्ले घरको भुइँ तल्लाको भित्र वृद्ध भुइँमा र वृद्धा खाटमाथि पल्टेको देखिएको र भुइँमा रगताम्ये देखिएको छ । स्थानीयका अनुसार दम्पतीका दुई छोरा वैदेशिक रोजगारीका क्रममा कोरियामा रहेको र अर्का छोरा म्याग्दी सदरमुकाम बेनीमा फेन्सी पसल चलाएर बसेका छन् ।

‘दुवैजनाको दैलाको आग्लो र चिर्पटले हत्या गरेको देखिएको छ’, उनले भने, ‘जिल्लाबाट प्रहरीको टोली आइसकेको छ। थप अनुसन्धानका लागि तालिमप्राप्त कुकुर पनि पोखराबाट मगाइएको छ।’

पर्वत प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिरहेको छ ।