जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाल आउने पर्यटक बढे एक महिनामै भित्रिए १ लाख २८ हजारभन्दा बढी

जन्मभुमि खबर ,
पोखरा ।

यस वर्षको मार्चमा नेपाल भित्रिने विदेशी पर्यटक २८ दशमलव ९ प्रतिशतले बढेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या २८ हजार ७ सय ४१ ले वृद्धि भएको हो ।

गत वर्षको मार्चमा कुल ९९ हजार ४ सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको सोही अवधिमा एक लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल आएका छन् । मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् । भारतबाट सो अवधिमा ३० हजार छ सय ९८ पर्यटक नेपाल आएका छन् । चिनियाँ पर्यटकको संख्या भने १२ हजार ९३ छ ।

बोर्डका अनुसार सो अवधिमा अमेरिकाबाट १० हजार ७ सय ७३ र बेलायतबाट ७ हजार २ सय ४१ जना, श्रीलङ्काबाट ५ हजार ७ सय ४१, जर्मनीबाट ५ हजार २ सय ५५, थाइल्यान्डबाट ४ हजार ३ सय ४५, फ्रान्सबाट ३ हजार २ सय ४० र म्यानमारबाट ३ हजार १ सय ३१ जना विदेशी पर्यटक नेपाल आएका छन् ।

क्षेत्रीय हिसाबले हेर्दा एसिया (सार्क)बाट ४० हजार ७ सय २७, एसिया (अन्य)बाट २८ हजार ६ सय ४८, युरोपबाट २७ हजार ५ सय ८२, ओसनियाबाट ४ हजार ७ सय ८० र क्यानडा र अमेरिकाबाट १२ हजार छ सय १४ जना पर्यटक नेपाल आएका छन् ।

यस वर्षको जनवरीमा ७९ हजार १ सय र फेब्रुअरीमा ९७ हजार ४ सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२३ को पहिलो तीन महिनामा २ लाख २७ हजार ७ सय ५५ जना विदेशी पर्यटक नेपाल भित्रिएकोमा सन् २०२४ को पहिलो तीन महिनामा ३ लाख ४ हजार ६ सय ९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुन ३३ दशमलव ७८ प्रतिशतले बढी हो ।