जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नश्ल सुधारका लागि सोलुको याक मनाङ र मुस्ताङका किसानलाई वितरण

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेश सरकारले चौँरीको नश्ल सुधारका लागि मुस्ताङ र मनाङका किसानलाई याक वितरण गरेको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयअन्तर्गतको पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयले मुस्ताङका कृषकलाई १० र मनाङमा नौ गरी १९ याक वितरण गरेको हो ।

सोलुखुम्बुको स्याङबोचेमा रहेको याक आनुवांशिक स्रोत केन्द्रबाट खरिद गरेर ल्याइएका याक मुस्ताङकालागि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले ती याक हस्तान्तरण गरे ।

नश्ल सुधारका लागि नेपालको सरकारी एक मात्र याक अनुवांशिक स्रोत केन्द्र स्याङ्बोचे, सोलुखुम्बुबाट याक ल्याइएको पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा प्रेरणा सेढाई भट्टराईले बताए ।

मुख्यमन्त्री पाण्डेले उन्नत जातको याकबाट नश्ल सुधारमा मद्दत पुग्ने र हिमाली क्षेत्रका किसानलाई फाइदा हुने बताए । गण्डकी प्रदेशको मुस्ताङ र मनाङमा व्यावसायिक चौँरीपालन हुने गरेको छ । म्याग्दी र कास्कीको लेकाली क्षेत्रमा पनि चौँरीपालन गरिएको छ ।

याकको नश्ल र जातीय सुधारको लागि पहिलो पटक याक(भाले) प्रजातिको करिब डेढ देखि दुई वर्षका याक वितरण गरिएको पशुपन्क्षी विकास निर्देशनालयका अधिकृत सुरेशकुमार श्रेष्ठले बताए ।