जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जोमसोम–पोखरा हवाई सेवा तीन महिनापछि सञ्चालनमा

जन्मभुमि खबर ,
पोखरा ।

जोमसोम–पोखरा हवाई सेवा करिब तीन महिनापछि शुक्रबारबाट सञ्चालन भएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुुस्ताङको जोमसोम विमानस्थलमा हुुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत मङ्सिर दोस्रो सातादेखि बन्द भएको थियो ।

गत मङ्सिर २० गतेदेखि उडान बन्द गरेको सुमित एयरलायन्सले आजदेखि उडान भर्न थालेको जोमसोम विमानस्थलका प्रमुख हिरोण शाहले बताए । मङ्सिर १० गतेदेखि उडान रोकेको तारा एयरलायन्सले पनि केही दिनमै जोमसोम–पोखरा उडान सञ्चालन गर्ने तयारी गरेको छ ।

‘मौसममा सुुधार र पर्यटकीय याम सुुरु भएकाले पोखरा–जोमसोम हवाई सेवा सञ्चालन गरिएको हो’, विमानस्थलका प्रमुख शाहले भने, ‘सुमित एयरलाइन्सले आज दुई उडान भरेको छ ।’

बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्तरोन्नति भइरहेको अवस्थामा हवाई उडान सुरु भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज भएको छ । हवाई सेवा सुरु भएपछि मुस्ताङमा पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।

सन् २०२३ मा ९१ हजार विदेशी पर्यटकले मुुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । गर्मी बढ्न थालेसँगै केही दिनयता बेनी–जोमसोम सडकमा भएर मुस्ताङ जाने आउने सवारी साधनको चाप बढ्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजकुमार थापाले बताए ।