जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जेठ १८ देखि चीन, कतार र टर्कीका लागि सातामा एक-एक नियमित उडान हुने

जेठ १८ देखि चीन, कतार र टर्कीका लागि सातामा एक-एक नियमित उडान हुने

सरकारले यही जेठ १८ देखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको पर्यटनमन्त्री भानुभक्त ढकालले जानकारी दिए । आन्तरिक उडान खोल्नेबारे भने कुनै निर्णय भएको छैन ।

हाल नियमित उडान बन्द हुँदा चार्टर उडान मात्र हुँदै आएको छ। तर, चार्टर उडानमा यात्रुहरू ठगिने क्रम बढेपछि यी तीनवटा देशमा साताको एउटा मात्र उडान हुने गरी खोल्ने निर्णय गरिएको मन्त्री ढकालले बताए ।

उनका अनुसार चीनको कुनै पनि स्थान, कतारको दोहा र टर्कीको इस्तानबुलमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरिएको हो ।

नेपाल आउने यात्रुका लागि विभिन्न सर्त तोकिएका छन्।

दुवै खोप लगाएको र कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको यात्रुलाई १० दिन होम क्वारेन्टाइनमा बस्ने गरी नेपाल आउन दिइनेछ ।

कसैले एउटा मात्र खोप लगाएको छ र उनको कोरोना परीक्षण नेगेटिभ छ भने विमानस्थलबाट काठमाडौंका कुनै होटलमा तीन दिन क्वारेन्टाइन बस्नुपर्नेछ। यस्तो क्वारेन्टाइन खर्च यात्रु आफैंले बेहोर्नुपर्नेछ ।

एउटा पनि खोप नलगाएको तर रिपोर्ट नेगेटिभ आएका यात्रुले १० दिनसम्म होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ। खर्च उसको आफ्नै हुन्छ।

सरकारले वैशाख १६ देखि निषेधाज्ञा लागू गरेपछि वैशाख २० देखि आन्तरिक उडानमा रोक लगाएको थियो। त्यसपछि वैशाख २३ गते रातिदेखि भारतबाहेक अन्य मुलुकतर्फका अन्तर्राष्ट्रिय उडानमा पनि रोक लगाइएको थियो ।