जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

‘जनयुद्ध दिवस’को बिदा कायम छैन – गृह मन्त्रालय

जन्मभुमि खबर ,
पोखरा ।

गृह मन्त्रालयले यसअघि सरकारले फागुन १ गते निर्धारण गरेको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ । गृहले सोमबार विज्ञप्ति जारी गर्दै फागुन १ गतेको बिदा कटौती भएको स्पष्ट पारेको हो ।

“सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्को २०८० माघ २५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र (खण्ड ७२, संख्या ६५, भाग ५, मिति २०७९ चैत २) मा प्रकाशित संवत् २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्बद्ध सबैको जानकारीका लागि अनुरोध छ,” विज्ञप्तिमा उल्लेख छ ।

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’का रूपमा मनाउँदै आएको छ । सोही क्रममा गत वर्ष माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । सर्वोच्चले फागुन १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय खारेज गरिदिएको थियो । त्यसपछि गृहले विज्ञप्ति जारी गर्दै उक्त दिन सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको हो ।