जनगणनामा खटिने कर्मचारीलाई ५ लाखको बिमा
काठमाडौँ — राष्ट्रिय जनगणना–२०७८ मा खटिने कर्मचारीलाई पाँच लाख रुपैयाँको बिमा व्यवस्था गरिएको छ । राष्ट्रिय योजना आयोग अन्तर्गत केन्द्रीय तथ्यांक विभागले उक्त व्यवस्था गरेको हो । आगामी जेठ २५ गतेबाट असार ८ गतेसम्म हुने जनगणनामा खटाइने ३९ हजार कर्मचारीका निम्ति यो व्यवस्था गर्न लागिएको हो ।
जनगणना कार्यमा खटिनेहरूका लागि नियमानुसार पाँच लाख रुपैयाँसम्मको चोटपटक तथा दुर्घटना बिमा गरिनेछ,’ राष्ट्रिय जनगणनाको प्रशासनिक व्यवस्था आर्थिक सुविधा सम्बन्धी मापदण्डमा छ, ‘रकम भुक्तानी प्रक्रिया बिमा कम्पनीको नियमानुसार हुनेछ ।’ त्यसका साथै जनगणना कार्यमा खटिने कर्मचारी घाइते भएमा उपचारको नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक कार्यविधिअनुसार बढीमा ५० हजार रुपैयाँको उपचार खर्चसमेत उपलब्ध गराउने उल्लेख छ ।
विभागले जनगणनाका निम्ति आवश्यक जनशक्ति माग गरिसकेको छ । जसमा ८ हजार सुपरिवेक्षक र ३९ हजार गणकको माग गरिएको छ । योग्यता पुगेका व्यक्तिले मुलुकको जुनसुकै ठाउँबाट अनलाइनबाट आवेदन दिनसक्ने छन् । सुपरिवेक्षकले स्नातक उत्तीर्ण गरेको हुनेपर्नेछ भने गणकले कक्षा १२ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ । महिलाको हकमा १८ देखि ४५ वर्ष र पुरुषको १८ देखि ४० वर्ष उमेरकाले आवेदन दिनसक्ने छन् । दुई महिनाका निम्ति सुपरिवेक्षक र एक महिनाका निम्ति गणक करारमा लिइने छन् ।
‘शैक्षिक योग्यताका अतिरिक्त स्थानीय भाषा बोल्न, लेख्न जानेकालाई प्राथमिकता दिइने छ,’ विभागका निर्देशक ढुण्डिराज लामिछानेले भने, ‘जनगणना प्रत्येक घर–परिवारमा पुगेर लगत संकलन गर्नुपर्ने भएकाले जनशक्ति पनि स्थानीय हुनुपर्ने प्रावधान छ । त्यसैले सम्बन्धित पालिकाको जनशक्तिलाई प्राथमिकता दिइने छ । यदि पाइएन भने जिल्ला भित्रकै आवेदकलाई छनोट गरी खटाइने छ ।’ रासस