चीनले दिएको ८ लाख डोज कोरोना खोप आइपुग्यो
चीनले अनुदानमा दिएको कोरोना खोप आइतबार काठमाडौं आइपुगेको छ । चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपको ८ लाख डोज काठमाडौं आइपुगेको हो ।
बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको चाटर्ड विमानले आइतबार बिहान उक्त परिमाणको खोप काठमाडौं ल्याएको हो । खोप लिन एयरलाइन्सको जहाज आइतबार चीन गएको थियो ।
चीनले गत माघ १८ गते नेपाललाई तीन लाख डोज खोप सहयोग गर्ने बताए पनि फागुन १७ मा थप ५ लाख डोज थपेर अनुदानमा ८ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो ।
यसअघि नेपाललाई भारत सरकारले सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित कोभिसिल्डको १० लाख डोज अनुदानमा उपलब्ध गराएको थियो । त्यस्तै नेपालले सिरमसँग २० लाख डोज खोप खरिद गर्न भुक्तानी गरिसके पनि अहिलेसम्म १० लाख डोज मात्रै प्राप्त भएको छ । त्यस्तै कोभ्याक्स सुविधाअन्तर्गत नेपालले ३ लाख ४८ हजार डोज कोरोना खोप पाइसकेको छ । उक्त सुविधाअन्तर्गत नेपालले जम्मा २२ लाख डोज खोप पाउनेछ ।
त्यस्तै भारतीय सेनाले आइतबार नेपाली सेनालाई १ लाख डोज कोरोना खोप सहयोगमार्फत उपलब्ध गराएको थियो । चीनले दिएको समेत गरी अहिलेसम्म नेपालमा ३१ लाख ४८ हजार डोज कोरोना खोप भित्रिएको छ । जसमध्ये करिब १६ लाख ७३ हजार डोज खोप प्रयोग भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालले माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेको थियो । पहिलो डोज लगाएका व्यक्तिलाई वैशाख ७ गतेदेखि दोस्रो डोजको खोप उपलब्ध गराउने मन्त्रालयको तयारी छ ।