जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गोरखाका ६ स्थानीय तहलाई प्रेम खत्रीले उपलब्ध गराए एम्बुलेन्स

जन्मभुमि खबर ,
पोखरा ।

गोरखाका ६ वटा स्थानीय तहलाई एम्बुलेन्स उपलब्ध गराइएको छ।

सम्भव नेपालले ‘ख’ बर्गका एम्बुलेन्स स्थानीय तहहरूलाई उपलब्ध गराएको हो।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्भव नेपालले उपलब्ध गराएको एम्बुलेन्स बिहीबार गोरखा सदरमुकाममा आयोजित कार्यक्रममा सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेका हुन्।

मुख्यमन्त्री पाण्डेले एम्बुलेन्सको सदुपयोग गर्न स्थानीय तहका प्रमुखहरूलाई आग्रह गरेका छन् ।

अजिरकोटको भच्चेक आधारभूत अस्पताल, बारपाक सुलिकोटको शहीद प्रेम ढकाल स्मृति आधारभूत अस्पताल, सिरानचोकको श्रीनाथकोट स्वास्थ्य चौकी, गण्डकी गाउँपालिकाको दर्बुङ स्वास्थ्य चौकी, आरूघाटको थुमि स्वास्थ्य चौकी र चुमनुब्रीको सिर्दिवास स्वास्थ्य चौकीलाई एक-एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको सम्भव नेपालका अध्यक्ष प्रेमकुमार खत्रीले बताए ।

मुख्यमन्त्री पाण्डेले एम्बुलेन्सलगायत सामग्री सहयोग गरेकोमा सम्भव नेपाल र अध्यक्ष खत्रीलाई धन्यवाद दिएका छन्।

एम्बुलेन्ससहित हिटर, डेलिभरी बेड, स्पाइनल बेड, ह्विलचियरलगायत सामग्री पनि स्थानीय तहलाई उपलब्ध गराइएको उनको भनाइ छ।

दुई करोड ३६ लाख रुपैयाँमा एम्बुलेन्ससहित स्वास्थ्य सामग्री खरिद गरिएको थियो ।

खत्रीले यसअघि पनि एम्बुलेन्सलगायत सामग्री उपलब्ध गराएका थिए। गण्डकी गाउँपालिकालाई एक, भिमसेन थापा गाउँपालिकालाई एक, गोरखा नगरपालिकालाई दुई, धार्चे गाउँपालिकालाई एक, शहीद लखन गाउँपालिकालाई एक एम्बुलेन्स सहयोग गरेका थिए।