जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीमा २२ प्रतिशत रोपाइँ

पोखरा — गण्डकी प्रदेशमा २२ प्रतिशत रोपाइँ सम्पन्न भएको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता ग्रीष्म न्यौपानेले धान रोपाइँ बल्ल सुरु भएको बताए ।

वर्षे धान जेठबाटै रोपिन्छ,’ उनले भने, ‘किसानलाई हिउँदे धान र मकै थन्काएपछि वर्षे धान रोप्ने बेला बल्ल भएको हो ।’ उनले गण्डकीका ११ जिल्लामध्ये मनाङ र मुस्ताङमा रोपाइँ नहुने बताए ।

कृषि मन्त्रालयका बागवानी विकास अधिकृत अर्जुनदेव ज्ञवालीले असार २५ पछि अधिकाशं स्थानमा धान रोपाइँ सम्पन्न हुने बताए । ‘चैते धान काटिए पनि अधिकांश ठाउँमा मकै छन्,’ उनले भने, ‘अहिले नै धेरै रोप्ने समय भएको छैन ।’ उनले साउनको १५ सम्म धान रोपाइँ गरिने बताए । उनले म्याग्दीमा ५७ प्रतिशत सबैभन्दा बढी धान रोपाइँ भएको बताए । तनहुँमा २८, लमजुङमा १०, नवलपुरमा ७, स्याङ्जामा ८, बागलुङमा १० र कास्कीमा २५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । प्रदेशभरि १ लाख २० हजार ५ सय ३० हेक्टर क्षेत्रफलमा वर्षे धान रोपिन्छ । त्यसमध्ये १७ हजार ७ सय ९८ मा मात्र रोपाइँ भएको छ ।