जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

खोपको माग गर्दै पोखरामा यातायात मजदुरहरुको आन्दोलन

जन्मभुमि खबर,
पोखरा ।

पोखरामा खोप माग गर्दै यातायात मजदुरहरुले आन्दोलन गरेका छन् । पोखरा महानगरपालिकाले खोप स्थगन गरेको सुचना सार्वजनिक भएसँगै नेपाल यातायात स्वतन्त्र मजदुर संघमा आबद्ध मजदुरहरु सडकमा उत्रिएका हुन् । श्याम कुमार बजगाईले खोप नपाउँदा सम्म आफुहरु आन्दोलन गरिरहने बताए । उनले भने,‘आज खोप पाइन्छ भनेर हामी उत्साहित थियौं । कास्कीमा रहेर काम गर्ने बाहिरी जिल्लाका साथीहरु पनि खोप लगाउन आउनुभयो । तर बिहान एक्कासी खोप स्थगनको सुचना सार्वजनिक भयो । त्यसैले सडकमा आउनुपरेको हो ।’

उनले मजदुरका लागि छुट्याइएको खोप कहाँ गयो भन्दै सरकारसँग प्रश्न गरेका छन् । सरकारले आफ्ना आसेपासेहरुलाई मात्र खोप उपलब्ध गराएको तर मजदुरको पीडा नसुनेको आरोप उनको छ । यातायात क्षेत्रमा काम गर्ने मजदुरहरुलाई राज्यले सँधै उपेक्षा गरेको उनले बताए । दुई महिना भन्दा बढी लकडाउनमा घर बस्दा दैनिक गुजारा गर्नै मुस्किल परिरहेको यातायात मजदुर बताउँछन् । श्यामले मजदुरहरुलाई खोपको व्यवस्था नगरेसम्म सुरक्षित साथ काम गर्ने वातावरण समेत नभएकाले खोपको उपलब्धतालाई सहज बनाउन सरकारसमक्ष आग्रह गरे ।

उनले लामो दुरीका सवारी साधनलाई छेकेर सरकारले मजदुर र उनीहरुका परिवारको पेटमा लात हानेको आरोप लगाए । सरकारले खोपको व्यवस्था यथाशिघ्र नगरे थप आन्दोलन चर्काउने चेतावनी उनको छ ।