जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

क्यानाडामाथि नेपालको रोमाञ्चक जित

जन्मभुमि खबर ,
पोखरा ।

स्पिनरहरुको प्रेरणादायी प्रदर्शनमा नेपालले क्यानाडाविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।

त्रिवि मैदानमा भएको खेलमा सहज जिततर्फ लम्किरहेको क्यानाडालाई नेपालले ७ रनले स्तब्ध तुल्यायो ।

क्यानडाले २८ रनका लागि आफ्ना अन्तिम ६ विकेट गुमाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ४, ललित नारायण राजवंशीले २ तथा सोमपाल कामी, रिजन ढकाल र कुशल मल्लले एक एक विकेट लिए ।

खेलमा क्यानडाले दबाब बढाइरहेका बेला स्पीनरहरुले नेपाललाई खेलमा फर्काएका थिए । कुशलले चौथो विकेटका रुपमा हर्स थाकरलाई आउट गर्दा क्यानडाले १७४ रन जोडेको थियो । कुशलले क्यानडाको ६० रनको साझेदारी तोडेका थिए ।

क्यानडाले १८९ रन जोडेको अवस्थामा रोहितले पाँचौं विकेटका रुपमा विकेटकिपर श्रेयस मोव्वालाई व्यक्तिगत एक रनमा आउट गरेका थिए । त्यो रोहितको व्यक्तिगत दोस्रो विकेट थियो । ६ रनपछि पवन सर्राफले शानदार ब्याटिङ गरिरहेका निकोलस कीर्तनलाई बोल्ड गरे । कीर्तनले ६८ रन बनाएका थिए ।

त्यसपछि क्यानडाले थप ११ रन जोड्दासम्म कुनै विकेट गुमाएन । तर, क्यानडाले २०७ रन जोडेको अवस्थामा नेपालले दुई विकेट लियो । रोहित र ललितले विकेट लिएर नेपाललाई खेलमा फर्काएका थिए । २१२ र २१७ रनको स्थितिमा क्यानडाले बाँकी विकेट गुमाएकाे थियो ।

रोहितले ८.५ ओभरमा २ मेडन राखेर २२ रन खर्चिए ।

त्यसअघि नेपालले पहिला ब्याटिङ गर्दै ५० ओभरमा सबै विकेट गुमाएर २२४ रन जोडेको थियो । कुशल भुर्तेलले ६२, आरिफ शेखले ३८, सोमपाल कामीले २७ र कुशल मल्लले २० रन बनाए । नेपालले त्रिवि क्रिकेट मैदानमा खेलेका पछिल्ला १३ एक दिवसीय अन्तर्राष्ट्रिय खेल हारेको छैन ।

सन् २०२२ को नोभेम्बर १४ तारिखमा नेपाल यूएईसँग पराजित भएयता कीर्तिपुर मैदानमा भएका सबै १२ खेल जितेको छ । यूएईसँगको तीन खेलको शृंखला नेपालले पहिलो खेल हारेर पनि लगातार दुई खेल जित्दै हात पारेको थियो ।

त्यसपछि विश्वकप लिग- २ अन्तर्गतका दुईवटा त्रिकोणात्मक श्रृंखलाअन्तर्गत खेलेका ८ खेल जितेको थियो भने एसीसी प्रिमियर कपका दुईवटा एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा पनि विजय प्राप्त गर्दै उपाधि नै जितेको थियो । श्रृंखलाअन्तर्गत दोस्रो खेल शनिबार हुनेछ ।