कोठा भाडामा लिएर यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा दमकबाट दुई महिला पक्राउ
जन्मभुमि खबर ।
कामको खोजीमा आउने युवतीहरूलाई पैसाको प्रलोभन देखाएर अनैतिक क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ।
इलाका प्रहरी दमकका अनुसार वडा नम्बर ६ स्थित सब्जीमण्डीको घर भाडामा लिएर अनैतिक क्रियाकलाप चलाइरहेका महिला पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे-४ की ३८ वर्षीया नन्दिता साँवा लिम्बू र इलाम चुलाचुली गाउँपालिका-४ की ३८ वर्षीया उर्मिला नेम्वाङ छन्।
प्रहरीले केही दिनअघि उक्त घरबाट आठ जना पीडित युवतीको उद्धार गरेको थियो। उद्धारपछि अनुसन्धान गर्दा ती युवतीले आफूहरूलाई प्रलोभनमा पारी यौनजन्य कार्यमा संलग्न गराएको बताएका थिए ।
ग्राहकसँग कन्ट्याक्ट गराएर युवतीहरूलाई पठाउने र यौनजन्य क्रियाकलापमा संलग्न गराएर पैसा लिने गरेको पाइयो,’ इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले भने, ‘युवतीहरूलाई कम पैसा दिएर आफूले बढी पैसा राख्ने गरेको खुलेको छ।’
ती महिलाले १७ देखि ३९ वर्ष उमेर समूहका युवतीलाई अनैतिक क्रियाकलापमा संलग्न गराएको पाइएको कार्कीले बताए।
युवतीहरूको वयान संलग्न गराएर प्रहरीले आफन्तको जिम्मा लगाएको छ।
पीडक महिलालाई मानव बेचबिखन मुद्दा दर्ता गरी अनुसन्धान थालिएको कार्कीले बताए ।