जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

केपी ओली कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लब

जन्मभुमि खबर ,
पोखरा ।

विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी—२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आर्मी क्लबले बिहीबार पोखरा रंगशालामा खेलिएको पहिलो सेमिफाइनल खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको बागमती प्रदेशलाई चार विकेटले हरायो ।

टस जिती पहिले ब्याटिङको निणर्य लिएको बागमती प्रदेशले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय २७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको आर्मी क्लबले १५ ओभरमै ६ विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो ।

आर्मी क्लबले बलिङ र ब्याटिङ दुबैमा उत्कृष्ट प्रदर्शन गर्‍यो । आर्मी क्लबको जितमा भीम सार्कीले ३९ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका भीमले ३५ बलमा पाँच चौका पनि प्रहार गरेका थिए ।

कुशल मल्लले पनि टोलीको खातामा २७ रन थपे । छैटौँ नम्बरका ब्याट्सम्यान कुशलले केवल आठ बलमा चार छक्का हिर्काएका थिए । त्यसअघि ओपनर ब्याट्सम्यान विनोद भण्डारीले २५ रन बनाएका थिए । उनले केवल १२ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काएका थिए । उनी टोलीका कप्तान पनि हुन् ।

सोमपाल कामी १५ रनमा अविजित रहे । उनले १४ बलको सामना गरी एक छक्का हिर्काएका थिए । राजेश पुलामी एक रनमा अविजित रहे । ओपनर सन्तोष कार्कीले सात रन जोडे । आर्मी क्लबले अतिरिक्त रुपमा नौ रन पाएको थियो ।

बागमती प्रदेशका बलर सन्दीप लामिछानेले दुई विकेट लिए । उनले चार ओभर बलिङ गर्दै ३४ रन खर्चिएका थिए । प्रतिस जीसी, इशान पाण्डे, सोनु देबकोटा र रित गौतमले पनि एक—एक विकेट हात पारे ।

त्यसअघि बागमती प्रदेशलाई ठूलो योगफल बनाउनबाट रोक्नेक्रममा आर्मी क्लबका बलर साहब आलमले चार विकेट लिएका थिए । आलमले चार ओभरमा एक मेडन राख्दै केवल १४ रन खर्चिएका थिए । उनी म्यान अफ दी म्याच पनि घोषित भए । सोमपाल कामीले दुई र विवेक यादवले एक विकेट हात पारेका थिए ।

बागमती प्रदेशका लागि प्रतिक श्रेष्ठले अर्धसतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । प्रतिकले अविजित ५० रन बनाएका थिए । उनले केवल ३५ बलको सामना गरी चार छक्का र तीन चौका पनि हिर्काएका थिए ।

कप्तान सन्दीप लामिछानेले २२ बलमा एक छक्का र दुई चौकाको मद्दतले १९ रन बनाए । ओपनर रित गौतम १४ रनमा आउट भए । तेस्रो नम्बरका ब्याट्सम्यान ईशान पाण्डे पनि १२ रनभन्दा अगाडि बढ्न सकेनन् । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

बागमती प्रदेशले अतिरिक्त रुपमा ११ रन पाएको थियो । त्रिभुवन आर्मी क्लब प्रारम्भिक चरणको खेलमा समूह ‘डी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । आर्मी क्लबले समूहगत चरणमा दुबै खेल जितेको थियो । बागमती प्रदेश भने समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । बागमती प्रदेशले पनि समूहगत चरणमा दुबै खेलमा सफलता हात पारेको थियो ।