कास्कीका ५ जना सहित गण्डकीमा थप २१ जनाको मृत्यु पुष्टि,शनिबार कास्कीका १४० जना सहित गण्डकीमा ६४७ जनामा संक्रमण पुष्ठि
जन्मभुमि खबर,
पोखरा ।
शनिबार गण्डकीमा ६४७ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोनासँग सम्बन्धित दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ७४८ जनामा गरिएको नमुना परीक्षणमा थप ६४७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका सबै १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १४० जना, तनहुँका ६४ जना, गोरखाका ५६ जना, लमजुङका ५४ जना, नवलपुरका ६४ जना र स्याङ्गजाका ११५ जना छन् ।
यस्तै, पर्वतका तीन जना, बाग्लुङका १२७ जना र म्याग्दी जिल्लाका २४ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४१ हजार १४२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ७७७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २९ हजार ३७३ पुगेको छ।
बिहीबार गण्डकीमा २१ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका पाँच जना, तनहुँका तीन जना, लमजुङका तीन जना, नवलपुरका चार जना, बागलुङका चार जना, म्याग्दीका एक जना र मुस्ताङका एक जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६४७ पुगेको निर्देशनालयले जनाएको छ ।