जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कम्पनी छोडिसकेपछि पनि आजीवन जबाफदेही भइरहनुपर्छ ? दोषी देखिए कारबाही भोग्न तयार छु : रवि लामिछाने

जन्मभुमि खबर ,
पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ग्यालेक्सी टिभीले कुनै सहकारीबाट ऋण लिनु वैधानिक नभएको र त्यसबापत तत्कालीन सेयर सदस्यका रूपमा आफूलाई पनि कारबाही हुन्छ भने भोग्न तयार रहेको बताएका छन् ।

विद्यमान कानुन आफूलाई कारबाही गर्न अपर्याप्त भएमा संशोधन गरेर भए पनि अभियोग लगाउँदा हुने उनको भनाइ छ । तर, उनले आफूमाथि प्रश्न उठाउने सञ्चारमाध्यमलाई कैयन प्रश्न भने राखेका छन् । ‘यहाँ मेरो एउटा प्रश्न चाहिँ छ– मदिराको विज्ञापन गर्न हुँदैन भन्ने कानूनी व्यवस्था सञ्चारमाध्यमलाई थाहा छ कि छैन ? छ भने २०७५ सालमै बनेको यस्तो व्यवस्थाको वर्षौँसम्म किन बर्खिलाप गरी मदिराको विज्ञापन गरी नै रहे ? कानुन त तिनी पनि बुझ्थे–बुझ्छन् होला ? मैले कानुन जान्नु–बुझ्नुपर्छ भन्ने कुनै सञ्चारमाध्यम वा पत्रकारलाई लाग्छ भने उसले पनि जान्नु–बुझ्नुपर्छ कि पर्दैन ?’, उनको प्रश्न छ ।

उनले सामाजिक सञ्जालमार्फत सञ्चारमाध्यमले गर्ने ‘आलोचना’ सकारात्मक दिशानिर्देश र ‘निन्दा’ कुत्सित उद्देश्य प्राप्तिका लागि हो भन्ने आफूले बुझेको बताएका छन् । नियत नै खराव राख्नेसँग सही नियतले प्रतिवाद गर्नुको अर्थ नहुने भएपनि आफूले सत्य स्थापित गर्ने प्रयास मात्रै गरेको भन्दै उनले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नताको विषयमा लामो प्रष्टीकरण दिएका छन् ।