जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने

जन्मभुमि खबर ,
पोखरा ।

नेकपा एमालेले राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरेलाई उठाउने भएको छ । राष्ट्रियसभा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालका अनुसार उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।

उनले भने, ‘पार्टीका अध्यक्ष केपी शर्मा ओलीले यो विषयमा हामीलाई जानकारी गराउनुभएको छ, पार्टीबाट राष्ट्रियसभाका लागि उपाध्यक्षमा गठबन्धनको साझा उम्मेदवार विमलाजी हुने तय भएको छ ।’

राष्ट्रियसभाको उपाध्यक्ष नेकपा (एस)ले पाउने सहमति भएको हो नि भन्ने प्रश्नमा उनले त्यस्तो केही सहमति नभएको बताए । यो विषयमा नेकपा (एस)ले आफैँ प्रचार गरेको उनले बताए । गठबन्धनमा सहमति गरेर नै एमालेले उपाध्यक्षमा आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको दाहालले बताए ।

चार दलीय गठबन्धनको बैठकले भने सुरुमा राष्ट्रियसभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले पाउने सहमति गरेको थियो  । गठबन्धनमा नेकपा (एस) मिसिएपछि सो सहमतिलाई संशोधन गर्दै एमालेलाई उपाध्यक्ष दिने लाइन हटाइएको थियो ।

त्यसपछि उपाध्यक्ष नेकपा (एस)ले पाउने चर्चा चलेको थियो । नेकपा (एस)का नेताहरूले पनि उपाध्यक्ष आफ्नो पार्टीले पाउने सहमति भएको स्वीकार गरेका थिए ।