जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आहा रारा पोखरा गोल्डकप : मस्र्याङ्दी क्लबलाई सडन डेथको शिकार बनाउँदै जावलाखेल सेमिफाइनलमा

जन्मभुमि खबर ,
पोखरा ।

२३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कपमा आज भएको खेलमा जावलाखेल युथ क्लबले मनाङ मस्र्याङ्दी क्लबलाई सडन डेथको शिकार बनाउँदै जावलाखेलले जित निकालेको हो ।

सडन डेथमा मनाङका रणदीप पौडेलको प्रहार विपक्षी जावलाखेलका कीपर युनिष महर्जनले उत्कष्ट बचाऊ गरेपछि जित सुनिश्चित भएको हो । पहिलो ५ पेनाल्टीमा दुवै पक्षबाट ४–४ गोलको बराबरी भएको थियो । त्यसपछि ७–७ पेनाल्टीमा समान ६ गोल भयो । जावलाखेलका शिशिर लेखीले ६–५ को स्थितिमा ल्याए । लगत्तै मनाङका कीपर जियारथ शेख आफैं अघि बढे । उनले प्रहारबाट नतिजा ६–६ मा आयो । लगत्तै, जावलाखेलका प्रदीप बुढाथोकीको पेनाल्टी सुटआउटमार्फत ७–६ को स्थितिमा आउँदा रणदीपको निर्णायक प्रहारमा कीपर युनिश चम्किएका हुन् । उनले उत्कृष्ट बचाउ गरे । आहा राराको २३ औं संस्करणसम्म पहिलो संस्करण (क्याराभान) बाहेक अन्य संस्करणमा यसखालको नतिजा आएको थिएन ।

पहिलो हाफसम्म दुवै टिमले गोलरहित बराबरी खेलेकोमा जावलाखेलले ५५ औं मिनेटमा अग्रता लिएको हो । सुदीप श्रेष्ठले दिएको पासमा हिसुब थपलियाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका हुन् । उनले सुदीपबाट प्राप्त पासलाई पेनाल्टी बक्समा अघि बढाउँदै प्रहार गरेको बल अन्ततः जाली चुमेको हो । मनाङले ८९ औं मिनेटमा राजेश परियारको मद्दतमा गोल गर्दै बराबरी खेलेको हो । त्यसअघि, मनाङ र जावलाखेलका २ प्रहार क्रसबारमा लागेर फर्फिंदा दुर्भाग्य बनेको थियो ।

निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटसम्म दुवै पक्षबाट १–१ को बराबरीपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि निर्णयार्थ पेनाल्टी सुटआउटको सहारा लिनुपरेको हो ।

निर्धारित समय सकिनै लाग्दा मनाङले गोल गर्दै बराबरी खेले पनि अन्ततः पहिलो खेलबाटै पराजित हुनुपरेको छ । जबकि मनाङ आहारारामा पुलिस समान सर्वाधिक ६ पटकको विजेता हो ।

भोलिको खेल अन्तिम क्वाटरफाइनलमा नेपाल पुलिस क्लब र चर्च ब्याइज युनाइट क्लबीच प्रतिस्पर्धा हुनेछ ।