जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज श्री स्वस्थानी व्रतकथा समापन गरिँदै

जन्मभुमि खबर
पोखरा । वैदिक सनातन हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्ने एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन हुँदैछ ।

पुस शुक्ल पूर्णीमाका दिनदेखि सुरु भएको यो वर्षको श्रीस्वस्थानी व्रतकथा आज विधिपूर्वक समापन गर्न लागिएको हो ।

आजदेखि श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनसम्मका लागि विसर्जन गरिन्छ ।

महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकांक्ष पूरा हुने जनविश्वास छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा श्रवण गर्ने र पूजाआजा गर्ने चलन छ ।

विधिपूर्वक एक महिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।

सय रोटी व्रतालुले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ ।